काठ्मान्डौ ११ मङ्सिर।डिएगो म्याराडोना फुटबल मन पराउने धेरैका लागि देउताजस्तै थिए । अर्जेन्टिनीहरूका लागि त त्यसभन्दा पनि बढी । तिनै म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको छ, हृदयघातका कारण । पूरै अर्जेन्टिना यी एक फुटबल व्यक्तित्वका लागि पूर्णत: नतमस्तकजस्तै थियो । म्याराडोनाका धेरै रूप थिए, मैदानमा मौका सिर्जना गर्ने, खेल रच्ने, अनि स्ट्राइकर पनि ।त्यसैले उनलाई विश्व फुटबलले देखेको सर्वकालीन महान् खेलाडी मानिन्छ । उनी खेलसँगै कुनै न कुनै रूपमा विवादसँग पनि जोडिइरहे । जस्तो, सन् १९८६ को विश्वकपमा उनले इंग्ल्यान्डविरुद्ध क्वार्टरफाइनलमा ५१ औं मिनेटमा गरेको गोल । मेक्सिकोमा भएको त्यस विश्वकपमा त्यो गोल रेफ्रीका लागि हेड थियो । तर त्यो खासमा हातले अगाडि बढाइएको बल थियो । अनि यसलाई भनिन्छ, ‘केही मात्रामा म्याराडोनाको हेड, अलिकति भगवान्‌को हात ।’
त्यसको चार मिनेटपछि नै म्याराडोनाले अर्जेन्टिनाका लागि विजयी गोल पनि गरे । यसलाई निर्विवाद रूपमा मानिन्छ, अहिलेसम्मकै सर्वकालीन महान् गोल पनि । उनले १०.८ सेकेन्डभित्र १२ ‘टच’ को मद्दतले इंग्ल्यान्डका पाँच खेलाडीलाई छलाए अनि विपक्षी गोलरक्षक पिटर सिल्टनलाई माथ खुवाउँदै बललाई मीठो ढंगले पोस्टको दिशा दिए । पछि त्यस इंग्लिस टिमकै एक सदस्य ग्यारी लिनेकर भन्थे, ‘मलाई त त्यो गोल हेरेपछि ताली बजाऊँजस्तो पो लागेको थियो ।’

अर्जेन्टिनाले त्यस विश्वकपमा १४ गोल गरेको थियो, त्यसमध्ये पाँच म्याराडोनाकै नाममा थियो । उनकै कप्तानीमा अर्जेन्टिनाले विश्वकप पनि जित्यो, फाइनलमा तत्कालीन पश्चिम जर्मनीलाई हराएको थियो । उनी माथिल्लो दर्जाका मिडफिल्डर थिए, जसले १० नम्बर जर्सी लगाए । उनमा गज्जबको गति थियो, जुन पक्कै तीव्र थियो । उनी बलमाथि अविश्वसनीय रूपमा नियन्त्रण राख्थे ।

म्याराडोनाले दुई विश्वकपमा अर्जेन्टिनाको कप्तानी गरे, दुवैमा टिमले फाइनलको यात्रा गरेको थियो । एकमा जित पनि प्राप्त भयो । आफ्नो खेल–जीवनमा उनले अनेक अवार्ड र सम्मान दुवै पाए । जस्तो, सन् १९७९ र १९८० मा उनी दक्षिण अमेरिकी वर्ष–खेलाडी घोषित भए । सन् १९८६ को विश्वकपमा उनले गोल्डेन बल अवार्ड पनि जिते ।

यसमध्ये सबैभन्दा ठूलो उपलब्धि त सन् १९८६ मा उनले इंग्ल्यान्डविरुद्ध गरेको त्यो दोस्रो गोललाई ‘शताब्दीकै गोल’ घोषित गरियो, त्यो पनि फिफाबाट । उनको खेल–जीवनमा सबथोक थियो, सफलता, नाटक, अनुशासनहीनता, लागु पदार्थ दुर्व्यसन । बार्सिलोनामा उनले छोटो समय बिताए जुन निकै विवादास्पद रह्यो । पछि इटालीको नेपोली गए । त्यहाँ उनलाई अर्जेन्टिनामा जस्तै भगवान् मानिन्छ ।

सन् १९९४ को विश्वकपमा उनलाई निष्कासन पनि गरियो । अर्जेन्टिनामा उनी सबैका प्रिय किन भए भने उनले आफ्नो देशका नागरिकलाई खुसी दिए, प्रसन्नता दिने कारण बने । उनको समयमा अर्जेन्टिनामा सैनिक शासन थियो । तानाशाही व्यवस्थाका कारण जनताले दु:ख पाइरहेका थिए । चारैतिर चरम अभाव थियो । यसबीच फुटबलको मैदानबाट म्याराडोनाले अर्जेन्टिनीलाई मुस्कुराउने बहाना दिए ।

म्याराडोनाको जन्म ब्युनस आयर्सको लुनुसमा भएको थियो । उनी भिल्ला फोरिटोमा हुर्के/बढेका थिए, जसलाई सबैभन्दा डरलाग्दो सहर भनिन्छ, त्यहाँ हुने अपराधका कारण । उनका बुबा डिएगो सिनियर कारखानामा काम गर्थे । आमा भने इटालीबाट आएको शरणार्थी परिवारकी थिइन् । उनको परिवार गरिब थियो । सानोमा म्याराडोना अवैध चुरोट बेच्ने सानोतिनो काम पनि गर्थे ।

उनको तेस्रो जन्मदिनमा काकाले दिएको छालाको बलले उनको पूरै जीवन फेरिदियो । त्यहींबाट सुरु भएको उनको यात्राले अनेक मोड लियो । उनी फुटबल इतिहासमै महान् खेलाडीसमेत भए । त्यही बलबाट सुरु भएको उनको यात्राले परिवारलाई चरम गरिबीबाट मुक्ति मात्र दिएन, उनी अर्जेन्टिनीहरूकै लागि सबैभन्दा प्रिय छोरा भए ।

यिनै म्याराडोना अब रहेनन्, अल बिदा । यो एक युगको अन्त्य रह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय