भरतपुर २९,मङ्सिर । नारायणगढको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको ६ लेनको सडक निर्माणको काम पुसको पहिलो हप्ताबाट सुरू हुने भएको छ । यो सडक निर्माणपछि भरतपुर महानगरपालिकाको पहिलो ६ लेनको सडक हुनेछ ।
उक्त सडक निर्माणलाई भरतपुर महानगरले बहुचर्चित आयोजनाभित्र राखेको छ । महानगर प्रमुख रेनु दाहालले आफ्नो कार्यकालको पुल्चोक–गोन्द्राङ ६ लेनको सडक ठूला आयोजनामध्ये एक भएको बताइन् । उनले पुल्चोक–गोन्द्राङ ६ लेनको सडक देशकै नमुना बन्ने दाबी गरिन् । ६ लेन सडकले स्मार्ट सिटीको सम्झना गराउने उनी बताउँछिन् । उनले भनिन्, ‘स्मार्ट सिटीको एक हिस्सा ६ लेन सडक पनि हो, यसबाहेक भूमिगत तार बिछ्याउने काम, उज्यालो भरतपुर, विद्युतीय गाडीको रूट तयार हुनुलगायतका कार्यक्रम पूरा भएपछि पक्कै भरतपुर महानगर स्मार्ट सिटी बन्नेछ ।’
सडक डिभिजन भरतपुर कार्यालयले पुल्चोक–गोन्द्राङ सडकलाई ६ लेन बनाउन यसअघि नै ठेकेदार पक्षसँग सम्झौता गरिसकेको छ । सडक डिभिजनले पुल्चोक गोन्द्राङ सडक निर्माणको सम्पूर्ण प्रक्रिया पूरा भएको जनाएको छ ।
सडक डिभिजन भरतपुर कार्यालयका सूचना अधिकारी शिव खनालले भने, ‘पुसको पहिलो साताबाट ६ लेन सडक निर्माणको काम हुनेछ, त्यसअघिका सम्पूर्ण प्रक्रिया पूरा भइसकेका छन् ।’
कार्यालयका अनुसार ६ लेन सडक निर्माणका लागि कम्पनी छनोट भइसकेको छ । खनालका अनुसार सडक निर्माणको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको छ । सबैभन्दा कम आर्थिक प्रस्तावका आधारमा इन्डो सगुन जेभी बुटवलले सडक निर्माणको जिम्मा पाएको सूचना अधिकारी खनाल बताउँछन् ।
आर्थिक प्रस्तावका लागि छनोट भएका १६ कम्पनीमध्ये कम आर्थिक प्रस्तावका आधारमा निर्माण कम्पनी छनोट भएको सडक डिभिजन भरतपुरले जनाएको छ । पुल्चोक गोन्द्राङ सडक ६ लेन निर्माणको लागि एक अर्ब १२ करोड (भ्याटसहित) रूपैयाँमा ठेक्का सम्झौता भएको सूचना अधिकारी खनालले बताए ।
दुई वर्ष ४ महिनाभित्रमा ६ लेनको सडक निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी खनालले भने, ‘६ लेन सडक देशकै नयाँ मोडेलमा बन्नेछ, सम्झौताअनुसार ठेकेदार पक्षले २०७९ साल फागुन १० गते निर्माणको काम सक्नुपर्छ ।
हाल पुल्चोक–गोन्द्राङ सडक साँघुरो छ । कतै चार लेन, कतै दुई लेन रहेको यो सडक अहिले आकर्षक छैन । ६ लेन सडक बनेपछि आकर्षक देखिन्छ । उक्त सडक अहिले नारायणगढ बजारमा चार लेनको छ भने केन्द्रीय बसपार्कदेखि गोन्द्राङसम्म दुई लेनको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी खनालले नारायणगढ–बुटवल सडकखण्डकै आधारमा पुल्चोक–गोन्द्राङ सडक बन्ने बताए ।
सडकको चार लेनको बीच खण्डमा हरियाली हुने उनी बताउँछन् । जहाँ हरिया बोटबिरूवादेखि फलफूलका बिरूवाहरु लगाइनेछ । सडकको सीमा ५० मिटर चौडाइको हुनेछ । सडकका दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लेन रहनेछन् । सडकका दुवैतर्फ स्मार्ट लाइट रहनेछन् ।
स्मार्ट लाइटको जडान भरतपुर महानगरपालिकाले गर्नेछ । स्मार्ट लाइटको जडानमा भरतपुर महानगर अघि बढिसकेको छ । उक्त ६ लेनको सडकखण्डमा बिजुली अन्डरग्राउन्डबाट पास गरिनेछ । नेपाल विद्युत् प्राधिकरणले ६ लेन सडकखण्डमा विद्युत् जमिनमुनिबाट प्रवाह गर्न अध्ययनसमेत गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय