कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाभित्र रहेको निजी मेडिकलहरुले अवैध रुपमा गर्भपतन गराउने गरेको पाइएको छ ।कतिपयले औषधि विक्रीको मात्र अनुमति लिएर स्वास्थ्य चेकअप गर्नेदेखि अवैध गर्भपतन गराउने सम्म गरेको पाइएको छ ।

अविवाहित युवतीहरु गर्भ पतन गराउन ती युवतीहरु यस्ता मेडिकल तथा क्लिनिकहरुमा जाने र तालिम प्राप्त स्वास्थ्यकर्मी विना नै औषधि दिएर गर्भपतन गराउने गरेको पाइएको छ ।ती युवतीहरु त्यसरी गर्भपतन गराउँदा स्वास्थ्यमा थप समस्या भएपछि मात्र सरकारी स्वास्थ्य चौकी, अस्पतालमा आउने गरेका छन् ।

कावासोतीमा रहेको स्वास्थ्य चौकीका एकजना स्वास्थ्यकर्मीले आफूले कावासोती–३ को मनकामना हेल्थ क्लिनक, अनु हेल्थ कियर, कावासोती–५ को वीरप्लस क्लिनिक लगायतका मेडिकलहरुमा अवैध गर्भवतन गराएर स्वास्थ्यमा समस्या भएपछि मात्र आफूहरुकोमा थप उपचारका लागि आएको पाएको बताए। स्वास्थ्य चौकी नजिक रहेको मेडिकलहरुले बढी मात्रामा यस्तो गरेको पाइएको छ।

कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले आफूले पनि यस विषयमा जानकारी पाएको र अुनगमनको तयारीमा रहेको बताए।

उनले भने अनुगमनको क्रममा कही कतै त्यस्तो गरेको पाइए त्यस्ता मेडिकल सञ्चालकहरुलाई कारवाही गर्ने चेतावनी दिए।

कावासोती नगरपालिका भित्र रहेको अस्पताल तथा मेडिकलहरुमध्ये सरकारी अस्पताल तथा स्वास्थ्य चौकी र कालीगण्डकी सामुदायिक अस्पताल बाहेक अन्य कुनै पनि मेडिकल तथा अस्पतालमा गर्भपतन गराउन तालिम प्राप्त स्वास्थ्यकर्मी भएको र अनुमति लिएको जानकारी नभएको कावासोतीका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए।

विना दर्ता चल्दै कावासोतीका मेडिकलहरु
कावासोती नगरपालिका भित्र ५० को हाराहारीमा निजी मेडिकल तथा अस्पतालहरु रहे पनि अधिकांश निजी मेडिकल तथा अस्पतालहरुले नगरपालिकासँग कुनै पनि अनुमति लिएका छैनन्।

देश संघियतामा गएपछि स्थानीय तहमा त्यो स्थानीय तह भित्र रहेको कुनै पनि संघसंस्था, फर्म, व्यवसाय आदि दर्ता गर्नु पर्ने प्रावधान भए पनि मेडिकलहरु दर्ता नभएको कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए।

नागिलाका अनुसार नगरपालिकाले करका दायरामा ल्याउन कावासोती नगरपालिका भित्र सञ्चालित निजी, सामुदायिक अस्पताल तथा क्लिनिकहरुलाई नगरपालिकामा दर्ता हुन आव्हान गरेको भए पनि कावासोती नगरपालिका भित्रका ८ वटा मेडिकल, अस्पताल तथा क्लिनिकहरुले मात्र निवेदन दिएको छ।

कावासोती नगरपालिकामा कालीगण्डकी सामुदायिक अस्पताल, नवलपुर अस्पताल, शंकल मेडिकल एण्ड पोलिक्लिनिक, जीवन सिटी मेडिकल, सञ्चो मेडिकल, ओम मेडिकल, आले स्वास्थ्य क्लिनिक र सापकोटा क्लिनिकले मात्र निवेदन दिएको नागिलाले बताए।नागिलाले भने सबैको निवेदन प्राप्त भएपछि अनुगमन गरेर दर्ता प्रक्रिया अगाडि बढाउने नगरपालिकाले तयारी गरेको भए पनि अन्यले भने दर्ताको लागि निवेदन समेत नदिएको बताए।

नागिलाले पुस महिना भित्र कावासोती नगरपालिका भित्र सञ्चालित अस्पताल, क्लिनिक र मेडिकलहरुको अनुगमन गरी कारवाही थालिने बताए।कावासोती नगरपालिका उपप्रमुख प्रेमशंकर मर्दनियाले विना दर्ता सञ्चालनमा रहेको भेटिए तुरुन्त कारवाही गरिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय