आलेख-दिनेश कार्की,काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत आन्दोलनमा छन्। चर्काचर्का नारा लगाइरहेका छन्।

पछिल्लो हप्ता चर्किएका राजनीतिक पार्टीहरुको आन्दोलन पछ्याउँदा भन्न सकिन्छ- उनीहरुको आन्दोलनको न नारा बदलिएका छन्, न उनीहरुको आन्दोलन गर्ने पारा फेरिएको छ।

मंगलबार प्रचण्ड-नेपालले गरेको शक्ति प्रदर्शनका क्रममा सडकमा लागेका कतिपय नाराहरु अश्लील, स्त्रीद्वेषी, असभ्य खालका थिए। जसप्रति सामाजिक सञ्जालमा बहस पनि भएका छन्। लेखक, विश्लेषकहरुले आपत्ति जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै अनुमोदन गरिदिँदा दुवैको आलोचना भइरहेको छ। कैयौं नेताहरुले प्रतिगमन भन्ने गरेको यो कदममा यी दुवै पात्र हिस्सेदार छन्। उनीहरुमाथि प्रश्न उठाउनु आन्दोलनकारीको धर्म नै होला। तर सडकमा उनीहरुमाथि प्रश्न मात्रै उठाइएन, चरित्रलाई लिएर सडकमा नारा (गाली) घन्किए। त्यस्तै मध्येको एउटा नारा थियो-

विद्या तेरो सिन्दुर खोई?
केपी ओली तेरो पोइ..

अर्को नाराः
संसद् विघटन धोका हो
केपी ‌ओली बोका हो।

नेपाली शब्दकोष अनुसार नारा भनेको कुनै संस्था तथा व्यक्तिहरुले आफूले गरेका माग तथा अँगालेको विचार सिद्धान्त आदिको सार्वजनिक प्रचारका लागि गरेको उद्घोष हो। तर, अहिले सडकमा व्यक्त भइरहेका नाराले याे शब्दकै हुर्मत लिइरहेका छन्। यसले गर्दा आन्दोलनमा ऐक्यबद्धता जनाएकाहरुले पनि मन कुँडाउनुपर्ने स्थिति बनेको छ।

के नारा लगाउने समूहले अँगालेको सिद्धान्त यही हो? के आन्दोलनकारी समूह वा दलले गरेको उद्घोष यही हो? उनीहरुले खोजेको समाजले व्यक्त गर्ने भाषा यही हो? होइन भने, नारा किन यस्तो बनिरहेको छ?

आज कुनै अमुक दल सडकमा छ, अर्को समूह सत्तामा छ। यी दृष्य फेरिरहन्छन्। उदाहरणका लागि आज प्रचण्ड र नेपाल ब्यानर समातेर एकसाथ हिँडिरहेका छन्। उनीहरुका प्रदर्शनकारीले नारा लगाइरहेका छन्। हिजो माधवविरुद्ध प्रचण्ड र प्रचण्डविरुद्ध माधव र उनीहरुका कार्यकर्ता यसैगरी देखिएकै हुन्।

दृष्यमा अनुहारहरु फेरिरहन्छन्। तर उनीहरुले दिने नारा कहिल्यै फेरिएन। हालसालै नेपाल कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा प्रचण्ड-माधव समूहले निकालेको जुलुसमा सुनिएको एउटा साझा थियोः

आर्यघाटले के भन्छ
केपी ओली ले भन्छ

यो गाली नेपाली आन्दोलनकारीका मुखबाट सुनिन थालेको कति दशक बित्यो होला? देशमा राजनीतिक, सामाजिक र प्राविधिक परिवर्तनले कति धेरै फड्को मारिसक्यो, तर यी नारा लगाउनेहरुका नारा र पारा उहीँ छन्। उहिले वीरेन्द्रले स्थानमा पाएको नारामा नाम फेरिँदैफेरिँदै आज केपी ओलीले प्रतिस्थापना गरेका छन्। तर सूत्र र स्वरुप उही छ।

सडकमा जस्तो पनि नारा लाग्न सक्छन् भनेर नेताहरु टकटकिन मिल्दैन। किनभने यी नारा लगाउनेहरु त्यो पार्टीका कुनै न कुनै तहका नेता हुन्। उनीहरुलाई एक त यिनै नेताले संस्कार सिकाउन सकेनन्। अर्को, कस्तो सोच भएको व्यक्ति राजनीतिको मूल प्रवाहमा प्रवेश गरिरहेको छ? भन्ने पनि यसले दर्शाउँछ।

यी नारा त मानवद्वेषी नै भए। यस बाहेकका नारामा पनि कुनै पनि नयाँपन थिएन। हाल चलिरहेका सवैजसो आन्दोलनमा सुनिने अर्को नारा हो :

केपी तेरो पाराले
दु:ख पाए साराले

सारा नेपालीले दु:ख पाउनुको एक पात्र ओली होलान्। सत्‍य हो वर्तमान परिस्थितिका उनी कारक हुन्। तर नेपालीका यी दु:खका कारण अहिले नारा लगाइरहेका सबै दल हुन्। सबैजसो शीर्ष नेताहरु हुन्।

अर्कोलाई तिम्रो पाराले दु:ख पाएको बताइरहेका उनीहरु आफ्नो पाराले अरुले पाएको दु:ख देखिरहेका थिएनन्। उनीहरुले आन्दोलन गरेर राजधानीको यातायात अस्तव्यस्त पार्दा कतिले दु:ख पाए होलान्? यसलाई महसुस गर्न सकेनन्।

आन्दोलनका उही बासी र सडेगलेका तौरतरिका हेर्दा लाग्छ-नेपालका राजनीतिक दलका नेताहरुको सिर्जनशीलतासँग गोरु बेचेको साइनोसमेत छैन। आफ्ना कुरा सुनाउन सडकमै आउनुपर्ने समय गएको धेरै वर्ष भइसक्यो। सडकमै आए पनि अरुलाई दु:ख नदिई विरोध गर्ने तरिका विदेशमा मात्रै होइन, नेपालमै पनि अपनाउन थालिएको कति वर्ष बितिसक्यो। तर उनीहरु अझै ‘नआए देख्लास् र पख्लास्’ भन्दै उर्दी जारी गरेर गाउँगाउँबाट ल्याइएका कार्यकर्तालाई सडकमा उतार्नै व्यस्त छन्। आफ्ना कुरा कर्कस आवाजमा ढ्यांग्रे माइकबाट सुनाउनै व्यस्त छन्।

उनीहरुले सडकमा लाउड स्पिकर लगाएर कतिलाई सुनाउन सक्लान् वा सके? १० हजार। तर त्यसैको फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण लाखौंले हेरे–सुनेका छन्। कुन बढी प्रभावकारी? सही कुरा प्रभावकारी ढंगले राख्नका लागि सडक अनिवार्य सर्त होइन।

यतिबेला त्यही कदमविरुद्ध ‘बृहत् नागरिक आन्दोलन’ भइरहेको छ। उनीहरुबाट सिके पनि हुन्छ, विरोध गर्ने तरिका। विरोध भनेको विचार हो। त्यसअघि ‘इनफ इज इनफ’ले गरेको आन्दोलन हेरे पनि हुन्छ। उनीहरुले बोकेका पम्प्लेटमा लेखिएका नाराको खुबै प्रशंसा भएका थिए। पुराना नेताले नयाँ पुस्ताबाट सिक्न किन लाज मान्नु?

समाजका अन्य तह र तप्काले परिवर्तनको गति पक्डेका छन्। समयको माग अनुसरण गरेका छन्। जसले देश परिवर्तनको हाँक दिइरहेका हुन्छन्, उनीहरुले न नारा परिवर्तन गर्न सके, न पारा। न आफ्ना पर्चा बदल्न सके, न विरोधको गर्ने प्रथा।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय