आलेख-दिनेश कार्की,२९ पुष।प्रधानमन्त्री केपी शर्मा ओली अस्ति नै एउटा भाषणमा भनेका थिए- डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो, पखाल्यो, जस्ताको त्यस्तै। प्रचण्डप्रति लक्षित थियो यो भाषण। जति गरे पनि सफा नहुने कस्तो ज्याद्रो रैछ प्रचण्ड ! ओलीबाट केही नसिक्ने।

अहिले चर्चामा छ भारतीय जी मिडियालाई प्रधानमन्त्री ओलीले दिएको अन्तर्वार्ता। यो यति खतरा अन्तर्वार्ता भयो कि दिने र लिने दुवै मज्जाले पखालिए। सामाजिक सञ्जालमा प्रतिक्रिया हेर्दै यो स्पष्ट हुन्छ।

अन्तर्वार्ता लिने मान्छे र मिडिया कसरी पखालिए ?

अन्तर्वार्ता लिने पत्रकार थिए- सुधीर चौधरी। केही अघिसम्म भारत सरकारले आधिकारिक रुपमा बोल्न नमिल्ने तर मिडियाबाट बोलाउनु पर्ने सबै कुरा बोलिदिने मिडिया बनेको थियो जी मिडिया नेटवर्क।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको बारेमा बिना आधार ‘बलिउड गसिप’ जस्तो समाचार बनाएर जी न्युजकै बिहार झारखण्ड च्यानलले एउटा आपत्तिजनक सामग्री तयार पारेको थियो। त्यो पत्रकारिता थिएन, समाचार थिएन, घृणा फैलाउन बनाइएको वाहियात सामग्री थियो। त्यो सामग्री सोसल मिडियामार्फत् फैलिएपछि नेपालमा सबैले त्यसको चर्को आलोचना भयो। मल्टी सिस्टम अपरेटरहरुले केही भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिदिनुपर्ने स्थिति आएको थियो।

अनि नेपाल भारतका न्युज एङ्करहरुदेखि नै डरायो, सेनासम्म जानै परेन भन्ने ट्विट गर्ने पनि यिनै सुधीर थिए (पछि उनले त्यो ट्विट डिलिट गरे)

त्यति मात्र होइन, चौधरी भारतीय पत्रकारितामा बदनाम नाम हो। सन् २०१२ मा उनी जेल समेत परेका थिए। कारण- व्यापारी तथा सांसद नवीन जिन्दलको उजुरी। कोलगेट काण्डमा जिन्दल ग्रुपको नाम हटाएर समाचार बनाउनका लागि १०० करोडको विज्ञापन आफ्नो कम्पनीलाई दिनुपर्ने भन्दै धम्की दिएको उजुरी परेपछि चौधरी र उनका सहकर्मी समीर आलुवालिया तिहार जेलमा १४ दिन बस्नुपरेको थियो। भिडियो नै प्रमाणका रुपमा सार्वजनिक भएको थियो

त्यसपछि भारतीय ब्रोडकास्टर्स एसोसिएसनले चौधरीलाई संस्थाको कोषाध्यक्ष पदबाट निलम्बित गरेको थियो। तर सन् २०१८ मा आएर जिन्दल ग्रुपले अनुसन्धान गरिरहेको संस्थालाई पत्रकारहरुविरुद्धको आफ्नो उजुरी फिर्ता लिने बताएपछि उनले राहत पाएका थिए।

जी न्युजले नेपाल र नेपाली विरुद्ध त पहिलेदेखि नै घृणा फैलाइरहेकै थियो। २० वर्ष अघि इन्डियन एयरलाइन्सको अपहरण हुँदा पनि त्यसमा रहेका निर्दोष नेपाली यात्रु गजेन्द्र ताम्राकारलाई आतंकवादी भन्दै त्यतिबेला समाचार फुक्ने जी न्युज नै थियो।

नेपालमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तर्वार्ता लिएर, प्रसारण गरेरै जी न्युज र सुधीर चौधरी हाम्रो राष्ट्रवादबाट पखालिए शायद्। चिनियाँ राजदूतसित जोडेर अपाच्य सामग्री प्रसारण गरेको विषय पनि प्रधानमन्त्रीको राष्ट्रवादी अन्तर्वार्ताले पखालियो नै त होला।

यो त भयो अन्तर्वार्ता लिने पखालिएको कुरा। अन्तर्वार्ता दिने पनि मज्जैसँग पखालिए। सामाजिक सञ्जालमा देख्नुभएकै होला अस्तिसम्म ओलीलाई धारे हात लाउनेहरुले समेत वाहवाह गरेका। आलोचकहरु एकाएक प्रशंसक बन्न पुगेका। प्रचण्डले त खासमा क्लासमा बसेरै सिक्नुपर्ने हो ओलीसँग। ओलीको प्रचार संयन्त्रसँग। उनीहरुलाई राम्रैसँग थाहा छ- नेपालमा राष्ट्रवाद बिक्छ। भारतले नाकाबन्दी लगाएका बेला ओलीका कडा राष्ट्रवादी भाषणले नै हो चुनावमा एमाले सबैभन्दा ठूलो दल बनेको। अब चुल्हो चुल्होमा ग्यासको पाइप किन पुगेन, इलेक्ट्रिक गाडी रिङरोडमा सरर किन कुदेन, केरुङबाट काठमाडौँ हुँदै पोखरा रेल किन आएन, पानीजहाज चढ्न दिएको निम्ता कता गयो भनेर सोध्ने काम आलोचकको हो।

हिन्दी सिरियल हेरेर दङ पर्ने नेपालीहरुलाई हिन्दी भाषामै दिएको अन्तर्वार्तामा हिन्दी भाषी पत्रकार चौधरीलाई केही पाठ पढाएपछि ओलीको राष्ट्रवादी डङ्का फेरि चलिहाल्यो नि। त्यसपछि त बहालवाला प्रधानमन्त्री भएर निवासमा भारतीय गुप्तचर संस्था ‘र’का प्रमुख सामन्त गोयललाई भेटेको कुरा पनि पखालियो। संसद जिउँदै छँदै अध्यादेश ल्याएर तत्काल प्रमाणीकरण गरेर त्यही अध्यादेशको नयाँ व्यवस्था अनुसार प्रधान न्यायाधीश र प्रमुख प्रतिपक्षी नेतालाई समेत भाग दिएर संवैधानिक नियुक्ति गरेको कुरा पनि पखालियो। आफ्नै पक्षका नेताहरु सुवास नेम्वाङ र अग्नि खरेलले प्रधानमन्त्रीले संसद (प्रतिनिधि सभा) भंग गर्ने व्यवस्था संविधानमै छैन भनेर अगाडि नै भनेको भिडियो सार्वजनिक भइसक्दा पनि हुँदै नभएको प्रावधान अनुसार प्रतिनिधि सभा भंग गरेको कुरा पनि पखालिहाल्यो।

यस्ता कुराबाट ध्यान मोडिएर गयो एउटै कुरामा- ओलीले खतरै कुरा गरे भारतीय मिडियासित। आजसम्मका कुनै प्रधानमन्त्रीले यसरी कुरा गर्न सकेका थिएनन्! स्यालुट ओली बा !!

बरु एउटा कुरा- नेपालीहरु साह्रै कन्स्पिरेसी थेउरीमा विश्वास गर्छन्। हिजोसम्म ओलीकी इश्किया भन्दै चिनियाँ राजदूतसँग हाम्रा प्रधानमन्त्रीको नाम जोडेर अन्टसन्ट बकेर भिलेन बनाउने भारतीय मिडिया एक्कासी किन हिरो बनाउन काठमाडौँ उत्रिए ? किन नेपालीलाई राष्ट्रवादको डोज पिलाए? यस्तोमा चाहिँ कसैले गफ दिइसकेका छन् कि छैनन् हँ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय