चितवन, १५ बैशाख ।
चितवनमा निषेधाज्ञा हुने भएको छ । आज बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले बैैशाख १६ गते (भोली) रातीदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

जिल्लामा संक्रमिमतको संख्या बढ्दै गएपछि डिसीएमसीले निषेधाज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी खेमराज पौडेलले जानकारी दिनुभयो । आजको निर्णय भोली राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म लागु हुनेछ । चितवनमा कोरोना (कोभिड १९) संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

चितवनमा आजसम्म कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित थपिएसंगै कुल सक्रिय संक्रमितको संख्या ५८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चितवनमा भोलि रातीदेखि अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालयबाट हुने सेवा बन्द हुनेछन् । जिल्लामा लामो तथा छोटा दुरीका सार्वजनिक एवं निजि सवारी साधन संचालनमा रोक लगाईने छ । खाद्य सामाग्री, तरकारी, फलफुल, दुध डेरी, ग्यास पसल, पेट्रोल पम्प लगायत अत्यावश्यक वस्तु वा सेवा आपुर्ति गर्ने बाहेक अन्य पसल व्यवसाय बन्द गर्न प्रशासनले आग्रह गरेको छ ।

यस्तै, चितवन राष्ट्रिय निकुञ्ज तथा सामुदायीक वनहरुमा हुने जंगल सफारी, तथा नारायणी र राप्ती नदिमा हुने जलयात्रामा पनि रोक लगाईएको छ । यसअघि नै प्रशासनले बढि भिड हुने शैक्षिक संस्था सिनेमा हल, हाटबजार, जिमहलहरु बन्द गराईसकेको छ । विवाह ब्रतबन्ध लगायतका कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाईने छैन । तर, घरमा सञ्चालन गर्ने यस्ता प्रकारका कार्यहरु १५ जना नबढ्ने गरी तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य रुपमा प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

यद्यपी स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसंचार, इन्टरनेट, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास तथा पेट्रोलियम पदार्थ, तरकारी फलफुल, खाद्यन्न, दुग्ध पदार्थ, औषधी, पशुपंक्षिको दाना माछा, मासु लगायतका सेवाहरु सञ्चालन गर्न पाईने छ ।

उद्योगको हकमा भने कामदार लगायत सबैले जनस्वास्थ्यका निर्धारित सवै मापदण्ड अनिवार्य रुपमा पालन गर्न अनुरोध गरिएको छ । प्रशासनले अत्यावश्यक काममा बाहेक कोही घर बाहिर ननिस्कने तथा जथाभावी हिडडुल नगर्न र निस्कनै पर्दा अनिवार्य मास्क प्रयोग गरेर जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय