काठमाडौँः दाङको तुलसीपुर स्याउली बजारमा पार्किङ गरेर राखेको कारमा तीन जना बालकको शव फेला परेको छ।

आरजे ०१ सिसि ०८८५ भारतीय नम्बर प्लेट भएको कारभित्र तीन जना बालकको शव फेला पर्नु निकै डर लाग्दो विषय बनेको छ।

शनिवार राति कारभित्र बालकको शव भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि अनुसन्धानबाट मृत बालकहरूको पहिचान खुलेको छ।

‘एक जना कारको अगाडी सिटमा र दुई जना पछाडिको सिटमा मृत अवस्थामा फेला परेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले भने।

मृत्यु हुनेहरूमा तुलसीपुर बिरुवाका ९ वर्षीय किरण परियार, ७ वर्षीय सुवास परिया र करण परियार रहेका छन्। मृत भेटिएका बालक नातेदार समेत हुन्। उनीहरू वैशाख १६ गतेदेखि हराएका थिए। हराएको भन्दै आफन्तले प्रहरीमा उजुरी समेत दिएका थिए।

तर उनीहरू त्यसपछि कहाँ गए? कसरी कारभित्र मृत फेला परे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

‘अहिले नै दुर्घटना वा हत्या के हो भन्ने यकिन भन्न सकिने अवस्था छैन। पोस्टमार्टमको लागि पठाएका छौँ,’ एसपी चन्दले भने।

प्रहरीले कारधनी पत्ता लगाइसकेको छ। कारधनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय